काठमाडौं,१६ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगको क श्रेणी जोगिएको छ । राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट इन्स्टिच्युसन, गानरीको उपसमिति एससिएले आयोगलाई बुधबार पत्र पठाएर अहिले ‘क’ श्रेणीमै राख्ने जानकारी गराएको हो ।
आयोगलाई ’ख’ श्रेणीमा झार्न एक वर्षअघि सिफारिस गरेको उपसमिती एससिएले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन बन्ने प्रक्रिया अघि बढेको र अहिले आयोगको काम चित्तबुझ्दो भएकाले ‘क’ श्रेणीमै यथावत् राख्ने निर्णय गरेको जानकारी गराएको हो । आयोगको श्रेणी घटुवा हुने खतरा बढेसँगै गत कात्तिक २ गते सरकारले आयोगसम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिएपछि गानरीले अहिलेलाई क श्रेणीमै यथावत राख्ने निर्णय गरेको हो । गानरीमा १२० वटा देश सदस्य छन् ।
त्यसमध्ये ८८ वटा देश ’क’ र ३२ वटा ’ख’ वर्गमा छन् । गानरी मानव अधिकार आयोगको छाता संगठन हो । यसले मानव अधिकारको हकहितका लागि आवाज उठाउन पहल र सदस्य राष्ट्रले नियमअनुसार काम नगरे स्तर घटाउने गर्छ । गानरीले आयोगको गठन प्रक्रिया, ऐन, कामको प्रभावकारिता, सरकारको सहयोग र स्वामित्वसँगै मानव अधिकारका लागि सक्रियताको आधारमा स्तर निर्धारण गर्छ । २०५७ जेठ १३ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय मानव अधिकार आयोग अहिलेसम्म घटुवा भएको छैन ।




