कैलाली, ५ माघ । कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकको चौडाइ घटाउन लागिएको भन्दै धनगढीका युवा आन्दोलित भएका छन्।
धनगढी–अत्तरिया सडक ६ लेनको बनाउन नहुने भन्दै आफ्नो घर परेका १३ घरधनीले रिट हालेपछि सर्वोच्च अदालतले निर्माण कार्य रोक्न आदेश दिएसँगै युवा आन्दोलित भएका हुन् । सडक निर्माण रोक्न नहुने भन्दै दृष्टिविहीन अर्जुन रावलको नेतृत्वमा रहेको धनगढी युवा दबाब समूह सडकमा उत्रिएको छ ।
स्थानीय बुद्धिजीवीले पनि नगरपालिकासँगको मिलेमतोमा गलत काम भइरहेको बताएका छन् । बजार बन्द आह्वान गर्दै शुक्रबार धनगढी ट्राफिक चौराहमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरसहित १३ युवालाई प्रहरीले केहीबेर पक्राउसमेत गरेको थियो । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४ दशमलव २ किलोमिटर ६ लेन सडक तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै सम्झौतामार्फत निर्माण भइरहेको छ ।
सरकारले ०३४ सालमै मुख्य राजमार्गको मापदण्ड ५० मिटर चौडाइ कायम गरेको थियो । तर, पछि नगरपालिकाले सडकको चौडाइ ४५ मिटर मानेर नक्सापास गरेकाले अहिले सडक विस्तारमा समस्या भइरहेको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा करिब एक अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।