काठमाडौं, २९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताउनुभएको छ । सोमवारबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताउनु भयो ।
उहाँले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताउनु भयो । उहाँले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताउनु भयो । उहाँले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिले काहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कयौँ अनुमानको घेरामा राखिएको छ । यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरुले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुनसक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न शाहस न योजना छ । परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।’
सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनु भयो । उहाँले देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताउनु भयो ।