सिसिपिआईटी सँगको सम्झौता दुई देशबीच लगानी र द्विपक्षीय व्यापारमा सहकार्य गर्नु हो : अध्यक्ष अग्रवाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सिसिपिआईटी सँगको सम्झौता दुई देशबीच लगानी र द्विपक्षीय व्यापारमा सहकार्य गर्नु हो : अध्यक्ष अग्रवाल

काठमाडौं, २२ असोज । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआईटी) सँगको सम्झौता दुई देशबीच लगानी तथा द्विपक्षीय व्यापारमा सहकार्य गर्नको लागि भएको बताउनुभएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले परिसंघ र (सिसिपिआईटी) सँगको सम्झौताले नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँले परिसंघको सिसिपिआईटी सँगको सम्झौताले नेपाल–चीन दुवै देशका व्यवसायिक समुदायको व्यापार लगानीको विकासका लागि सहजीकरणमा सहजता आउने अपेक्षा रहेको बताउनु भयो । उहाँले सम्झौतामा सिसिपिआईटीका दुई जना उपाध्यक्ष र दुई जना सदस्य र परिसंघका पनि दुई जना उपाध्यक्ष र दुई जना सदस्यहरु काउन्सिलको सदस्य रहने गरी नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको बताउनु भयो । उहाँले आईतवार न्युज एजेन्सी नेपालसँग सम्झौताको विषयमा कुरा गर्दै परिषद्ले दुई देशबीच व्यवसायिक गतिविधिलाई सु–व्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवाद लगायत गतिविधि गर्न सहजता प्रदान गर्ने बताउनु भयो । उहाँले विगतमा प्रधानमन्त्रीको भ्रमणको समयमा मात्रै दुई देशबीच लगानी र व्यापारका विषयमा छलफल हुने गरेको भन्दै सिसिपिआईटी सँगको सम्झौताले आवश्यकता अनुसार निरन्तर छलफल र संवादको बाटो खुलेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ छिमेकी दुई देशका सरकारबीच सम्बन्ध राम्रो हुन्छ भने व्यापार व्यवसाय र लगानीको विषयमा सहज हुने किसिमले प्रधानमन्त्रीको चीन भ्रमण सफल रहेको छ । नेपाललाई विदेश लगानी आवश्यक छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकारात्मक सन्देश दिन्छ । नेपाल–चीन विजनेश काउन्सिल बनाउनको लागि परिसंघले चीनको सिसिपिआइटीसँग सम्झौता गरेका छौं । दुई देशबीच उच्च स्तरिय भ्रमण हुन्छ । त्यसपछि नेपालमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने भन्छौं । दुई घण्टा छलफल गरेर सेलाएर जाने गरेको छ । त्यसपछि नयाँ प्रधानमन्त्री आएर भ्रमण गर्दा मात्रै लगानी र व्यापार सहजिकरणका कुरा आउने भएकाले लगानी र नेपाल चीन व्यापार सहजिकरणलाई निरन्तरता दिने हिसावले नेपाल उद्योग परिसंघ र सिसिपिआईटीले सहकार्य गर्ने छलफल भएको थियो । अघिल्लो वर्ष चीनबाट नेपालमा सिसिपिआइटीको विजनेस टोली नेपाल आउँदा परिसंघले होस्ट गरेको थियो । परिसंघ र सिसिपिआईटीले नेपाल चीन व्यापार टु व्यापार सम्बन्ध बढाउने हिसाबले नेपाल चाइना विजनेस काउन्सिल गठन गर्ने भनेर निर्णय भएको छ । परिसंघका दुई जना उपाध्यक्ष र दुई जना सदस्य र उनीहरुको तर्फबाट पनि दुई जना उपाध्यक्ष र दुई जना सदस्य काउन्सिलको सदस्य हुन्छ । काउन्सिलले हरेक महिना नेपाल चीन लगानी र दुई देशबीचको व्यापारमा देखिएका समस्याका विषयमा सरकारसँग लभिङ गर्नसक्ने गरी गठन गरेका छौं । यसरी निरन्तर छलफल भयो भने मुलुकमा विदेशी थप लगानी ल्याउनको लागि थप छलफल भइरहन्छ । कुन क्षेत्रका कस्तो लगानी गर्ने भन्ने विषयमा उनीहरुले लगानीकर्ता नेपालसँग जोड्ने र परिसंघले नेपालका लगानीकर्तासँग जोडेर लगानी ल्याउन सक्ने वातावरण बनाउँछौं । क्षेत्रगत लगानी ल्याउने उदेश्य छ । लगानी सम्मेलनमा २० औं किसिमका लगानीका कुरा हुन्छ । विशेष व्यवसायीक क्षेत्रगत रुपमा लगानी गर्ने व्यवसायीहरु ल्याउने पर्यटनहरुको सम्भावानाहरु देखाउने,चीनका आईटी व्यवसायीहरुलाई नेपालका आईटी व्यवसायीहरुसँग जोड्ने,कृषि भए कृषि प्रविधि र व्यवसायीहरुलाई नेपालमा ल्याएर कृषिसँग जोड्ने उद्देश्यका साथ निरन्तर अन्तरक्रिया गरेर चीनबाट फाइदा लिने हो । परिसंघको यो महत्वपूर्ण उपलब्धी मानेका छौं ।’

उहाँले कुन क्षेत्रका कस्तो लगानी गर्ने भन्ने विषयमा उनीहरुले लगानीकर्ता नेपालसँग जोड्ने र परिसंघले नेपालका लगानीकर्तासँग जोडेर लगानी ल्याउनसक्ने वातावरण बनाउने बताउनु भयो । उहाँले सिसिपिआईटी सँगको सम्झौता नेपालमा सम्भावना भएका क्षेत्रमा क्षेत्रगत लगानी ल्याउने उद्देश्य रहेको पनि बताउनु भयो । उहाँले चीनका आईटी व्यवसायीहरुलाई नेपालका आईटी व्यवसायीहरुसँग जोड्ने,कृषि भए कृषि प्रविधि र व्यवसायीहरुलाई नेपालमा ल्याएर कृषिसँग जोड्ने उद्देश्यका साथ निरन्तर अन्तक्रिया गरेर चीनबाट फाइदा लिनेगरी सम्झौता हुनु परिसंघको यो महत्वपूर्ण उपलब्धी मानेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);