काठमाडौं, १९ असोज । १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा आज नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
महिला कबड्डीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सीमित भएको हो । सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको छ । नेपाल समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । नेपालले पहिलोपटक एसियाली खेलकुदको महिला कबड्डीमा भाग लिएको हो । नेपालको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो ।