काठमाडौं, १९ असोज । नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमती शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिलाले श्रीमानको हतियार प्रयोग गरेर आफैलाई आफैले गोली हानेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
गम्भिर घाइते शर्मिलाको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको स्रोतले जनाएको छ । उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।