काठमाडौं, १८ असोज ||
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिनुभयो ।
उहाँले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने बताउनु भयो ।