काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबारको बझाङ भुकम्पबाट पीडितलाई तत्काल राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज बिहान बैठक बोलाएर यस्तो निर्देशन दिएका हुन् । सरकारको तर्फबाट राहत,उद्दार,उपचार,पुनस्थापना तथा पुननिर्माणमा कुनै कमी हुन नदिने पनि उनले प्रतिबद्धता जनाए ।
प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई प्रचण्डले निर्देशन दिएका हुन् ।
प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको विषयमा बैठकमा छलफल भएको थियो ।