एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा

काठमाडौं, १५ असोज । शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन । माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीहरु सोमबारदेखि आन्दोलनमा उत्रेका हुन ।

बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर हातमा कालो पट्टी बाँधेर दिउँसो ४ बजेसम्म दबाबमुलक कार्यक्रम गरिने संघर्ष समितिले जनाएको छ । आन्दोलनमा सहभागी हुन संघर्ष समितिले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ ।

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेका छन्। त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७ सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ ।

मंगलबार देशभरीका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गर्ने र सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि संघर्ष समितिले घोषणा गरेको छ। ​ असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संघर्ष समितिले जनाएको छ ।

Leave a Reply