पुष्कर भट्ट, कञ्चनपुर,असोज १२ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ८ तिलाचौर वडा नम्बर १० गज्जर खोलाको किनारमा जुरापको बल बनाएर क्रिकेट खेल्न शुरु गरेका दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा विश्व कीर्तिमान कायम गरे पछि ऐरीको गृहजिल्ला कञ्चनपुरमा खुसियाली छाएको छ ।
उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका दीपेन्द्र सिंह ऐरी बाल्यकाल देखि नै क्रिकेट निकै रुचाउने उनले जुरापको बल बनाएर खोला किनारमा खेल्ने गरेको उनि खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले बताउछन ।
ऐरीले एसएलसीसम्म भीमदत्त १० सुखासाल स्थित कस्मोपोलिटिन स्कुलमा अध्ययन गरेका थिए । विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र प्रवीणता प्रमाणपत्र तह अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे । बुधबार ऐरीले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै नभएर जिल्लावासीनै खुसी भएका छन् ।
कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । खेलप्रेमीहरुले राज्यले खेलकुद क्षेत्रमा विषेश ध्यान दिएर पूर्वाधार विकासका साथै खेलाडीको हौसला बढाउनु पर्ने बताउछन ।
नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ ।
अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो । मैदानमा निर्माणको पहिलो चरणमा माटो भरान र ‘चेन्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको थियो । त्यसपछि सोही आर्थिक वर्षमा रु ३३ लाखको माटो भरानसमेत भयो ।दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरुप बनाएर छाडिएको छ । विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी भरानमै खर्च भएको देखिन्छ ।
महाकाली स्पोर्टस सोसाइटीका अधक्ष्य सुमन भट्टले कञ्चनपुर जिल्ला क्रिकेट खेलको उर्वराभुमी भएको बताउदै जिल्ला खेलकुद विकास समितिले क्रिकेट मैदान बनाउने ठाउँमा विगतमा माछापोखरी पालनका लागी जग्गा ठेक्कामा दिदा बनेका पोखरी भरानमै अनावश्यक खर्च भएको बताए । उनले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने यहाँ बेवास्ता हुँदै आएको बताए । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको बताए ।
एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेका नेपाली क्रिकेट टोलीमा रहेका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि कञ्चनपुरकै हुन् त्यसैगरि पछिल्लो समय यु–१९ को राष्ट्रिय टिममा पनि कञ्चनपुरबाट सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहरा छन् ।