काठमाडौं, १० असोज । साना व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै सभागृह अगाडी ९ दिनदेखि धर्नामा रहेका अभियन्ता ईः र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच मंगलबार भएको वार्ता निष्कर्षविहिन भएको छ ।
मेयर बालेन्द्र साहले सचिवालय सदस्य कुमार बेञ्जनकार र काठमाडौं महानगरपालिका वार्ता समितिका सदस्यलाई वार्ताको जिम्मेवारी दिएका थिए । उपमेयर सुनिता डंगोलले मंगलबार बिहान ईः सँग भेटेर वार्ता गर्न आफूले सहजीकरण गर्ने बचन दिएकी थिइन् ।
कामपाका प्रवक्ता नवीन मानन्धरको संयोजकत्वमा गठन भएको वार्ता टोलीमा २२ वडाका अध्यक्ष चीनकाजी महर्जन, कानुन, न्याय तथा मानव अधिकार विभाग विभाग प्रमुख वसन्त आचार्य, ब्यञ्जनकार र धिरज जोशी रहेका छन् भने ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी थिए । कामपा स्रोतका अनुसार मेयर साह वार्तामा नआएको कारण अभियन्ता ईः ले पनि वार्ता सहभागी नभएको बुझिएको छ ।