दाजुभाइ बीचको झगडाले एक निर्दोष परिवार स्वाहा | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

दाजुभाइ बीचको झगडाले एक निर्दोष परिवार स्वाहा

काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए । ‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने । प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ ।

शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए । ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ । दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

काठमाडौं तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त बानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी छन् । समितिलाई यथाशक्य चाँडो अनुुसन्धान सम्पन्न गर्ने जिम्मेवारी दिइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेश मैनालीले जानकारी दिए ।

दोलखाका एमाले नेता एवं व्यवसायी बालकृष्ण शिवाकोटीले सञ्चालन गर्दै आएको दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरामा बस्नेहरूमाथि धारिलो हतियार प्रहार भएको थियो । त्यहाँ दुई पुरुष र दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । तीनकुनेस्थित प्रहरी कार्यालयमा आफैं पुगेका दीपेन्द्रको जुत्ता र कपडामा रगत देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट सडकमा निस्किएपछि राईले ट्याक्सी भेटेको र चालकसँग तीनकुनेको प्रहरी कार्यालयमा आफूलाई पु¥याइदिन भनेको बताइएको छ । दीपेन्द्रलाई प्रहरी कार्यालय पुर्याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरिएको थियो । चालकले प्रहरीलाई दिएको जानकारीअनुसार दीपक हड्बडाउँदै ट्याक्सीमा चढेका थिए र शरीरमा रगत लतपतिएका कपडा लगाएका उनले आफूलाई प्रहरी कार्यालय पुर्याइदिन भनेका थिए ।

मिलका सञ्चालक बालकृष्ण शिवाकोटीले भने शनिबार बिहान प्रहरीले जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएका थिए । थाहा पाएपछि उनी तुरुन्तै घटनास्थलमा आइपुगेका थिए । मिलका सञ्चालक शिवाकोटीका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् ।

कुमारकी आमा सुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् र गोकर्णमा श्राद्ध गरेर घर जानुअघि त्यहाँ आएकी थिइन् । नागरिक दैनिकबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);