काठमाडौं, २९ भदौ । नेपालकी एक युवतीको हत्या भारतीय सेनाका जर्नेलले गरेको खुलासा भएको छ । तनहुँको भानु नगरपालिका–६ भई सिलिगुडीमा बसेर डान्सबारमा कार्यरत ३० वर्षीया श्रेया शर्मा (सुमित्रा घर्ती) को हत्या अभियोगमा प्रहरीले भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई पक्राउ गरेको छ ।
उपाध्यायलाई मंगलबार प्रहरीले अदालतमा हाजिर गराएको छ। अदालतले लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति पनि दिइसकेको छ । घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
आइतबार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रमा युवतीको शव फेला परेको थियो। छानबिनका क्रममा प्रहरीले लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई गिरफ्तार गरेको थियो। उनले श्रेयाको हत्या आफूले गरेको बयान दिएका छन्। विवाहका लागि दबाब दिएपछि श्रेयाको हत्या गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।
विवाहित उपाध्यायका डेढ वर्षका छोरा छन् । उनीहरु दुवैजनाबीच करिब २ वर्षदेखि सम्बन्ध रहेको खुलेको छ । लेफ्टिनेन्ट कर्णेल उपाध्यायको पोस्टिङ उत्तराखण्डको देहरादुनमा थियो । श्रेया शर्मा र कर्णेलबीच पश्चिम बंगालको सिलिगुडीको डान्सबारमा भेट भएपछि हिमचिम बढेको थियो ।
उनीहरु बीच प्रेम सम्वन्ध सुरु हुँदै गएपछि उपाध्यायले शर्मालाई देहरादुन लगेका थिए । सिलगुडीबाट देहरादुन लगेर श्रेयालाई उनले सुरुमा होटल र पछि कोठा भाडा लिएर राखे । यी सबैकुरा उनकी श्रीमतीले थाहा पाइन् । श्रीमतीले झगडा गर्न थालेपछि युवतीले विहेका लागि दबाब दिन सुरु गरिन् । उपाध्यायले विहेको दबाब थेग्न गाह्रो भएपछि उनले हत्याको योजना बनाएकोे खुलेको छ । श्रेयाको हत्याकै लागि शनिबार राति उपाध्यायले मदिरा पिलाएका थिए । त्यसपछि टाउको र निधारमा हथौडाले प्रहार गरेको उनले वताएका छन्।