सप्तरी, २७ भदौ । सप्तरीमा हत्या कसुरमा बुबा र छोरीलाई कैद सजाय तोकिएको छ । सप्तरीको तिरहुत गाउँपालिका–२ पिपराही गोइठी घर भइ राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका शिक्षक जयकृष्ण बिराजीको हत्या कसुरमा बावु र छोरीलाई तीन वर्ष कैद सजाय तोकिएको हो ।
सप्तरी जिल्ला अदालतले राजविराज नगरपालिका–७ की सन्तोषीकुमारी यादव र उनको बुबा बिन्दु भनिने बिन्देश्वर यादवलाई जनही तीन वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपित सन्तोषीकुमारी र बिन्देश्वरलाई कसुरदार ठहर गर्दै जनही ३० हजार रुपियाँ जरिवाना तिराउने र १ हजार २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने समेत फैसला गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका–७ का वडाअध्यक्ष टुनटुन भनिने सुभाषचन्द्र यादवलगायतलाई भने अदालतले सफाइ दिएको छ ।
२०७६ साल असार ८ जनाको समूहले गरेको कुटपिटबाट छोराको मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले उजुरी दिएका थिए । कुटपिटबाट गम्भीर घाइते बिराजीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा ०७६ असार ११ गते मृत्यु भएको थियो ।