वासिङ्टन, १९ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी तथा प्रथम महिला जिल बाइडेनमा कोरोना पोजेटिभ देखिएको छ ।
सोमबार जानकारी दिँदै ह्वाइट हाउसले जिललाई कोरोनाको हल्का लक्षण देखिएको बताएको छ भने राष्ट्रपति जो बाइडेनको परीक्षण नेगेटिभ आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बाइडेनकी ७२ वर्षीया श्रीमतीलाई पछिल्लो पटक गत वर्ष अगस्टमा कोभिड भएको थियो भने राष्ट्रपति जोलाई अन्तिम पटक जुलाई २०२२ मा कोरोना भएको थियो ।
जिल बाइडेन कोरोना पोजिटिभ भेटिएपछि अब अमेरिकी राष्ट्रपति जो बाइडेन २० शिखर सम्मेलनका लागि दिल्ली आउनेमा शंका उत्पन्न भएको छ । यद्यपी यसबारे ह्वाइट हाउसबाट कुनै भनाइ आएको छैन ।