काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिना शर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताउनुभएको छ ।
कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्षले राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिएको चर्चा भइरहँदा उहाँले विना कुनै लेनदेन आफूहरुले संसदमा आफ्नो सिट संख्याको आधारमा पूर्वाधार विकास समितिको नेतृत्व पाएको स्पष्टिकरण दिनुभएको हो ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष लिङदेनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीन वटा समितिको नेतृत्व पाएजस्तै आफूहरुले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको बताउनु भयो । उहाँले सो अवसर उपलब्ध गराएको भन्दै प्रमुख ३ दलप्रति आभार समेत व्यक्त गर्नुभयो । अध्यक्ष लिङदेनले कोशी प्रदेशको सरकार काँग्रेस र एमाले मिलेर बनाउँदा उपयुक्त हुन्छ भन्ने आफूहरुको अडान कायमै रहेको समेत बताउनु भयो ।
अध्यक्ष लिङदेनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरु रहेको उल्लेख गर्दै त्यसमा दलहरुबीच छलफल हुने र निकास निस्कने बताउनु भयो ।