क्रिकेटका महाशक्तिसँग खेल्न तयार छ नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

क्रिकेटका महाशक्तिसँग खेल्न तयार छ नेपाल

माउण्टेन टेलिभजन एचडी । एसियाकप क्रिकेट खेल्ने नेपालको सपना पुरा हुदैछ । बुधबार पाकिस्तानसंग मैदानमा उत्रिदा एसियाकप क्रिकेट खेल्ने नेपालको सपना पुरा हुने भएको हो । भर्खरै विश्व वरियताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग उसैको मैदानमा खेलेर नेपालले एशियाकप क्रिकेटको सुरुवात गर्ने छ । यहि प्रतियोगिता मार्फत भारतसँग क्रिकेट खेल्ने नेपालको लक्ष्य पनि पुरा हुनेछ ।

नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो प्रतिस्पर्धाका लागि नेपाल तयार भएको छ । पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार विश्व वरियताको शिर्ष स्थानमा रहेको पाकिस्तानको सामना गर्दै छ ।

नेपालले एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो । पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । बुधबारदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कपलाई पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले १५ वर्षपछि आतिथ्यता गर्दै छ । तर, भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि पाकिस्तानले ‘हाइब्रिड’ मोडलमा यो प्रतियोगिता आयोजना गरिरहेको छ । जसअनुसार एसिया कपका १३ मध्ये ४ खेलमात्र पाकिस्तानमा हुन लागेको हो । पाकिस्तानमा हुने अन्य तीन खेल सबै लाहोरमा हुनेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बुधबार दिउँसो सवा ३ बजे हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको क्यान्डीमा नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालको क्रिकेट इतिहासमा भारत र पाकिस्तानसँग खेल्न लागेको यो पहिलो पटक हो । विश्वका क्रिकेट हस्तीसंगको प्रतिस्पर्धाका लागि आमनेपाली निकै उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।

खेल जित्नकै लागि खेलिन्छ, क्रिकेटमा जे पनि हुन सक्छ , आम नेपाली नेपालको जितको स्वभाविक कामना गरिरहेका छन् । तर क्रिकेट संरचना, लगानी र अनुभवका आधारमा पाकिस्तान र भारतको अगाडि नेपाली क्रिकेट बामे सरेर भरखरै हिड्न लागेको अवस्थामा छ । दौडने प्रयासमा रहेको नेपाली क्रिकेटका लागि एसियाकप पहिलो पाइला हो । नेपालको गतिलो प्रदर्शन र जुझारु खेल अनि उत्साह नेपाली क्रिकेट पे्रमिहरुको एकमात्र अपेक्षा हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);