काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताउनुभएको छ ।
बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताउनुभएको हो । उहाँले विदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गर्नुभयो । उहाँले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडी बढाइएको बताउनुभयो । उहाँले अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनका लागि अगाडी बढीरहेको बताउनु भयो ।