रविको आरोप– संसद बैठकलाई हाइज्याक गरियो | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

रविको आरोप– संसद बैठकलाई हाइज्याक गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल चलाएर ‘हाइज्याक’ गरिएको बताउनुभएको हो । उहाँले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरुलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरुप संसद बैठक चलाइएको बताउनु भयो । उहाँले संसद बैठकको यसप्रकारको क्रियाकलापको रास्वपाले घोर भत्र्सना गर्ने बताउनु भयो । सभामुखले संसदको नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उहाँले कसको लागि र किन त्यस्तो गरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले सभामुखमाथि शंकाको घेरा देखिएको पनि बताउनु भयो ।

सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्वपूर्ण तयारी साथ आएको भएपनि बोल्न नपाएको बताउनु भयो । उहाँले योजनावद्ध रुपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरु प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताउनु भयो ।

त्यसैगरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा दुई जना सांसदलाई मात्रै बोल्न दिएर संसदमा अरुको उपस्थिति छैन भन्नेजस्तो नजिर बसाएका बताउनु भयो । उहाँले संसद दुई पार्टीको कब्जामा परेको बताउनु भयो ।

उहाँले सशक्त जनमत लिएर आएका नयाँ पार्टीहरुको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);