काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।
सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो । प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रुपमा प्रश्तुत हुनु स्वभाविक भएपनि लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको काँग्रेसको ठहर छ । बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
काँग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको बताएको छ । यस्ता गैरकानूनी पूर्ण रुपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ । प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको बताउनु भयो ।
त्यसैगरी संसदमा विचाराधिन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न काँग्रेसले सरकार र संसदमा क्रियाशिल सबै दलहरुलाई अपील गरेको छ । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसले संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गरेको लेखकले स्पष्ट पार्नुभयो ।
काँग्रेस संसदीय दलको बैठकले आ.व. २०८०÷८१ को बजेटमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै चालु आ.व.को बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेको छ । काँग्रेसले संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
काँग्रेस प्रमुख सचेतक लेखकले वर्तमान सत्तारुढ गठबन्धन नेपाली काँग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको बताउनु भयो । उहाँले अहिलेको सन्दर्भमा गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो । बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।
त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र कालाबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सबै प्रकारका घटनाहरुको स्वतन्त्र रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ भने भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारलाई अनुरोध गरेको छ । लेखकले सरकारी निकायले दिने सेवा प्रवाह छिटो, छरितो हुनुपर्ने, जग्गाको कित्ताकाटमा देखिएको समस्याको समाधान गर्नुपर्ने लगायत अन्य विभिन्न जनसरोकारका विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनु भयो ।