काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ ।
शनिवार काठमाडौंमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभुति समेटिएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताउनु भयो । उहाँले मानिसहरु जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने बताउनु भयो । उहाँले पुस्तकमार्फत जीवनमा भोगाइहरु साटेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो जिन्दगी कर्कलाको पातको पानी रहेछ, कहिले राम्रो देखिन्छ, कहिले झर्छ । मान्छेहरु बाँचुन्जेलसम्म राम्रो कर्म गर्नुपर्छ ।’
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।