कपनमा चल्न थाल्यो महानगरको डोजर | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कपनमा चल्न थाल्यो महानगरको डोजर

काठमाडौं । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिकाको डोजर चल्न थालेको छ ।

बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो । काठमाडौं महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो । महानगर र बुढानीलकण्ठबीच यस विषयमा सहमति भएको बताइएको छ ।

तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरुको आरोप छ । उनीहरुले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन् । यता बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको बताउनु भयो । उहाँले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने बताउनु भयो ।

त्यस्तै काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताउनु भयो ।

त्यस्तै स्थानीयहरुले भने बुढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरु बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन् । उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे । उनीहरुले भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए ।

उनीहरुले खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको बिरोध गरिरहेको बताए । बालबालिकाहरुलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);