काठमाडौं, २६ साउन । धनगढीमा एक सामुदायिक मेरी स्टोप क्लिनिकबाट गर्भपतन गराउने औषधी खाँदा एक महिलाको मृत्यु भएको छ ।
धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधी किनेर खाएकी प्रिति थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१२ जुुगेडीकी ३५ वर्षीय थापाले बिहीबार बिहान सो क्लिनिकबाट गर्भपतन गराउने औषधी किनेर खाएकी थिइन् । औषधी खाएपछि तुरुन्तै रक्तश्राव भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । सोही अस्पतालमा थापाको धेरै रगत बगेर मृत्यु भएको हो ।
मृतकका आफन्तले भने क्लिनिकले जथाभावी औषधी दिएर उनको मृत्युभएको आरोप लगाएका छन् । घटनापछि सञ्चालक बिनोद जोशी भने फरार थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको जनाएको छ ।