काठमाडौं,२२ साउन । संसदीय समितिको नेतृत्वमा ६ वटा दलबीच भागबण्डा मिलेको छ । रास्वपाबाहेक नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागबण्डा गरेका हुन् ।
कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ । आजै समितिको सभापतिको विषय टुंगिन्छ । केही दिनमै सबै समितिले नेतृत्व पाउनेछन् । प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समितिको नेतृत्व एमालेले पाउने भएको छ । संसदीय सुनुवाई समिति (संयुक्त) अर्थ, कृषि र राज्य व्यवस्था समिति कांग्रेसले पाउने सहमति छ ।
त्यस्तै, माओवादी केन्द्रले कानुन र विकास समिति, जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति,उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् । चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।