काठमाडौं, २९ पुष । यो वर्ष पुँजीबजारमा अधिकांश साधारण सेयर आईपीओ जलविद्युत कम्पनीको आउने भएको छ । बजारमा विभिन्न १४ जलविद्युत कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको आईपीओ यो वर्षभित्रै आउने भएको हो ।
चालु आर्थिक वर्ष सुरु भए यता अनुमति पाएका केही कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । केहीले निष्कासनका लागि आब्हानपत्र सार्वजनिक गरिसकेका छन् । केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ निष्कासन हुने गरेकोमा यो वर्षदेखि जलविद्युत कम्पनीको आईपीओ बढी आउने देखिएको हो ।
अधिकाँश आयोजना निर्माण भइरहेकाले आगामी वर्ष पनि जलविद्युत समूहको आईपीओ बढी आउने संभावना छ । एक दर्जन बढी कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार भइरहेका छन् । त्यस्तै, विभिन्न ४ वटा जलविद्युत कम्पनीले भने २ अर्ब ६८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन।
यी कम्पनीले सर्वसाधारणमा २ करोड ६८ लाख कित्ता सेयर जारी गर्नेछन् । जलविद्युत कम्पनीबाहेक अन्य तीन वटा माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन । उन्नति माइक्रोफाइनान्स, सामूदायिक लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ७ करोड ५९ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन् ।