एजेन्सी, १० साउन । बउिउडका चर्चित कलाकारहरु रणवीर सिंह र आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’चाँडै ठूलो पर्दामा रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर र प्रोमो सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर मानिसमा उत्साह बढेको छ । उच्च बजेटको यो फिल्मलाई करण जोहरले निर्देशन गरेका हुन् ।
यो फिल्मबाट लामो समयपछि करण जोहर निर्देशनमा लागेका छन् । उनले पछिल्लो फिल्म ए दिल है मुश्किल निर्देशन गरेका थिए । अहिले करणको फिल्म रकी र रानीको प्रेमकथाबाट दर्शकले ठूलो आशा राखेका छन् । उच्च बजेटको यो चलचित्रले आफ्नो बजेट फिर्ता गरिसकेको बताइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार रकी र रानीको प्रेमकथाको कुल बजेट १७८ करोड रहेको छ । जसमध्ये करण जोहरले फिल्म निर्माणमा १६० करोड खर्च गरेका छन् भने १८ करोड रुपैयाँ फिल्मको प्रचारमा खर्च भएको छ । जसपछि कुल बजेट १७८ करोड पुगेको हो । यसबाट फिल्मले निर्माण बजेट असुली गरेको छ ।
रकी र रानीको प्रेमकथाले रिलिजअघि नै राम्रो व्यापार गरेको छ । रिपोर्टका अनुसार अमेजन प्राइमले फिल्मको डिजिटल अधिकार ८० करोडमा किनेको छ । फिल्मको म्युजिक राइट्स ३० करोड र स्याटेलाइट राइट्स ५० करोडमा बिक्री भएको छ । यी तीनबाट कुल रिकभरी १६० करोड रहेको छ । अब फिल्मले प्रमोशनका लागि मात्रै १८ करोड संकलन गर्नुपर्नेछ, जुन सजिलै गर्न सकिन्छ ।
रकी र रानीको प्रेमकथाको अग्रिम बुकिङ सुरु भएको छ । यो बुकिङ सोमबारदेखि सुरु भएको हो । रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मले अग्रिम बुकिङबाट अहिलेसम्म ७५ लाखसम्म मात्रै कमाएको छ । तर, चलचित्रको मिति नजिकिदै गर्दा यो बुकिङले गति लिनेछ । अब यो फिल्मले पहिलो दिन कति करोडको कलेक्सन गर्छ त्यो हेर्न बाँकी छ ।
रकी र रानीको प्रेमकथाको कुरा गर्दा आलिया र रणवीरसँगै शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि यो फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन् । यो चलचित्र २८ जुलाईमा हलमा रिलिज हुँदैछ ।