संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छः अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रुपमा चलाउनुपर्ने बताउनु भयो । उहाँले आफूहरुको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने बताउनु भयो । उहाँले संघीयता ल्याउनका लागि लडेका दलहरु पनि भाषणको रटानका नलागी व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरुले जनताको सो आकांक्षालाई पूरा गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले जनताले महशुस गर्नेगरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरु कम हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जति हामी स्पष्ट हुन्छौँ सभा चलाउन त्यत्तिकै सजिलो हुन्छ । यदी हामी म यहाँबाट आएको अलिकति यसो भन्नथाल्यो, कहिँ न कहि ढल्किन थाल्यो भने गाह्रो हुन्छ । यदी हामी यो व्यवस्थालाई बलियो बनाउन, कहिलेकाहीँ हुन्छ नि मलाई कस्तो लाग्छ भने पञ्चायतकालमा म संलग्न भएको पार्टी तत्कालिन मालेले राष्ट्रिय पञ्चायतमा जाने भण्डाफोर गर्ने भन्थ्यो । अब यहीँ व्यवस्थामा आएर यसलाई भण्डाफोर गर्न आएको कोही हौँ भने त अलग कुरा भयो । यहाँ आएर यसलाई पनि बलियो बनाउँदै अगाडी बढौँ भन्ने हो भने हामी अत्यन्त निष्पक्ष भएर चलाउनैपर्ने हुन्छ । किनभने त्यो व्यवहारले यो परिपाटीलाई बलियो बनाउने हो । संसदको आकर्षण बढाउने कुरामा, या सरकारको, प्रदेशको अहिले जे कुरा आइराखेको छ नि धेरै कुरा बाहिर आएको छ सबै हामी बुझेकै छौँ । यसमा हामीले यो व्यवस्था ल्याउनका लागि लडेकाहरु, यो व्यवस्था राम्रो छ भनेकाहरु, यही अनुसार अगाडी यसलाई राम्रो बनाएर लानुपर्छ संघीय लोकतान्त्रिक गणतन्त्रलाई राम्रो, बलियो बनाउनुपर्छ भनेर लाग्नेहरुले, त्यसका हिमायतीहरुले अब यो राम्रो छ भनेर भाषणको रटाइमा होइन, आज व्यवहारबाट राम्रो छ भनेर देखाउने ठाउँमा छौँ । बोलेर के गर्ने व्यवहार राम्रो भएन भने कसैले पत्याउनेवाला छैन । यसको मतलव सांसद, सभामुख, उपसभामुखको कुरा मात्रै होइन । सरकार, राजनीतिक दलहरु, जुन राजनीतिक दलको अगुवाइमा हामीले यो व्यवस्था ल्यायौँ । तिनै दलहरु सरकार पक्ष, प्रतिपक्ष भएर रहेका छौँ । सबैको दायित्व हो । जनप्रिय काम किन हुन सकेन ? सुशासन हामी दिन सक्यौँ, सकेनौँ ? जनप्रिय काम दिएका छौँ कि छैनौँ ? आम नागरिकले सुशासनको महशुस गर्न पाए कि पाएनन् ? सुशासन दिएको छु भनेर भएन, सुशासनको अनुभुति गर्नेले पायो कि पाएन ? मुख्य कुरा त्यो हो ? आर्थिक विकास के भइरहेको छ ? विकास निर्माण र त्यसलाई प्रगतिपथमा लाने कुराहरुमा हाम्रा गतिविधिहरु केन्द्रीत छ कि छैन ? त्यो कुराले यसको लोकप्रियता बढाउने र घटाउने गर्छ । संघीयता चाहिदैन भन्नेले भनिरहने एउटा कुरा भयो । चाहिन्छ भन्नेले व्यवहारबाट चाहिदैन भन्ने संख्या घटाउँदै लाने हो । बोलेर घटाउने भन्दा व्यवहारले घटाउने । गरेर विरोधलाई निस्तेज पार्ने हो । यसकारण त्यो अभियानमा लाग्नुपर्ने हुन्छ ।’

उहाँले विपक्षीले सधैँ नराम्रो कुरा मात्रै नभन्ने भन्दै सरकारले संसदमा विपक्षीले बोलेका कुराहरुलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो । विपक्षीका कुरालाई पनि सरकारले आत्मसात गरेर कमी, कमजोरी सुधार्नुपर्ने उहाँको भनाई छ ।

Leave a Reply