सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब, मुख्य सचिवसँगै भएका बेला सचिवको कोठामा छड्के | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सामान्य प्रशासन मन्त्री र सचिवबीच टकराब, मुख्य सचिवसँगै भएका बेला सचिवको कोठामा छड्के

काठमाडौं, १ साउन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीच टकराब सिर्जना भएको छ ।

मन्त्री मोदीले केही दिनअघि मुख्य सचिव डा। वैकुण्ठ अर्याललगायतका सचिवसँग मिटिङमा रहेका बेला मन्त्रालयका सचिव कृष्णहरि पुष्कर मन्त्रालयमा अनुपस्थित रहेको भन्दै सचिवको हाजिरमाथि रातो घेरा लगाइदिएपछि मन्त्री र सचिवबीच टकराब सिर्जना भएको हो ।

मन्त्री मोदीले आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग मिटिङमा रहेको थाहा पाउँदापाउँदै मन्त्रालयमा आकस्मिक रूपमा सचिवलगायत सहसचिवको कोठाको छड्के जाँच गर्नुभएको थियो । आफ्ना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवसँग रहेको थाहा हँुदाहुँदै मन्त्री मोदीले योजनाबद्ध किसिमले सचिवको कोठामा छड्केजाँच गरेपछि मन्त्रालयका अन्य सहसचिवलगायतका उच्च कर्मचारीहरू आश्चर्यमा परेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार पछिल्ला केही दिनयता कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र र सचिव पुष्करबीच सामान्य खटपट हँुदै आएको थियो । मन्त्रालय स्रोतका अनुसार मन्त्री मोदीले दिनहुँजसो कुनै न कुनै कर्मचारीको सरुवा गर्न निर्देशन दिने गरेको तर सचिव पुष्करले आर्थिक वर्षको अन्तिममा कर्मचारीको सरुवा गर्न नहुने अडान लिँदै आएपछि मन्त्री मोदी सचिव पुष्करसँग असन्तुष्ट रहँदै आउनुभएको थियो । मन्त्रीले सरुवा गर्न दिएको निर्देशनलाई सचिवले अस्वीकार गरेपछि मन्त्री मोदीले त्यसको रिस सचिवमाथि फेरेको स्रोतको दाबी छ । मन्त्रालयका एक अधिकृतका अनुसार मन्त्री मोदीले केही दिनदेखि नियमअनुसार गर्नै नमिल्ने खालका सरुवा गर्न सचिव पुष्करलाई निर्देशन दिँदै आउनुभएको थियो । ‘सचिवज्यूले मन्त्रीको गलत खालका सरुवा गर्नुपर्ने निर्देशन पालना नगरेकाले मन्त्रीले सचिवमाथि रिस पोख्नुभएको हुन सक्छ’ –मन्त्रालयका ती अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

सोही दिन दिउँसो २ः३० बजेसम्म सचिव पुष्कर मन्त्रालयमा मन्त्री मोदीसँगै रहेका थिए । मन्त्री मोदी राष्ट्रिय सभाको बैठकमा जाने र सचिव पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवले डाकेको बैठकमा जाने विषय दुवैलाई जानकारी थियो । मन्त्री मोदी राष्ट्रिय सभाको बैठकमा जान निस्कनै लाग्दा सचिव पुष्कर पनि आफू प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवसँगको बैठकमा जानु छ भन्दै मन्त्रीलाई जानकारी गराएर ३ः३० बजेतिर मन्त्रालयबाट बाहिरिनुभएको थियो । तर, त्यसको केही घण्टापछि मन्त्री मोदी फर्केर आएर एक्कासि सचिवलगायतका सहसचिवको कोठामा छड्के जाँच गर्नुभएको थियो । यसलाई मन्त्रालयका उच्च अधिकारीहरूले मन्त्रीको सनकका रूपमा लिएका छन् ।

मन्त्री मोदीले सचिवको कोठामा छड्के जाँच गर्नुअघि मुख्य सचिव डा। वैकुण्ठ अर्याललाई फोन गरी मेरो सचिव खै भनेर जानकारी लिनुभएको थियो । मुख्य सचिव अर्यालले पनि सचिव पुष्कर आफूहरूसँग महत्वपूर्ण बैठकमा रहेको बताउनुभएको थियो । मुख्य सचिव अर्यालयको सचिवालयले पनि सोही दिन सचिव पुष्कर मुख्य सचिवसँगै महत्वपूर्ण मिटिङमा रहेको स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव पुष्करले आफू मन्त्री मोदीलाई जानकारी गराएरै मुख्य सचिवले बोलाएको बैठकमा गएको बेला मन्त्रीबाट छड्के जाँच भएको घट्नाले आश्चर्यमा परेको बताउनुभयो । ‘मन्त्रीज्यूलाई म प्रधानमन्त्री कार्यालयमा जाने कुरा जानकारी गराएकै हुँ तर किन छड्के गरेर हाजिरमा रातो लगाउनुभयो मैले बुझ्न सकेको छैन, यसले मलाई दुखित बनाएको छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोही दिन मन्त्रीले अनुपस्थित भन्दै अर्का सहसचिव स्किम श्रेष्ठको हाजिरमा पनि घेरा लगाउनुभएको थियो जबकि सहसचिव श्रेष्ठ मन्त्रालयको स्वीकृति लिएर राष्ट्रिय योजना आयोगको कार्यक्रममा जानुभएको थियो ।

मन्त्रालयका प्रवक्ता सहसचिव कमलप्रसाद भट्टराईले पनि सचिव पुष्कर सोही दिन जानकारी गराएरै प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवसँगको मिटिङमा जानुभएको बताउनुभयो ।

सचिव पुष्करका अनुसार मन्त्रीले छड्के गरेको दिन साँझ ५ः३० बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवलगायत सचिवहरू एकनारायण आर्याल, मधु मरासिनीसँग विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेर उहाँ बालुवाटारमा प्रधानमन्त्री पत्नी सीता दाहालको श्रद्धाञ्जलि कार्यक्रममा पुग्नुभएको थियो । बालुवाटारमा राति ७ बजेसम्म बसेर उहाँ निवास फर्कनुभएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदीले सचिवलाई साँझसम्म केही कर्मचारीको सरुवा गर्न निर्देशन दिएको तर सचिव अबेरसम्म पनि मन्त्रालय नफर्केपछि मन्त्री मोदी आक्रोशित बनेर छड्के जाँच गरेको स्रोतको दाबी छ ।

मन्त्री मोदीले सचिव पुष्करको हाजिरीमा रातो लगाएपछि मुख्य सचिव डा वैकुण्ठ अर्याल रुष्ट बन्नुभएको छ । आफूसँग मिटिङमै रहेका सचिवलाई त्यस सम्बन्धमा जानकारी हँुदाहुँदै मन्त्री मोदीले हाजिरीमा रातो लगाएको भन्दै मुख्य सचिव अर्याल मन्त्री मोदीसँग रुष्ट बन्नुभएको हो । नियमअनुसार सचिवको मुख्य सुपरभाइजर र हाकिम मुख्य सचिव हुन् । सचिवको कामको बारेमा अनुगमन गर्ने जिम्मेवारी मुख्य सचिवलाई हुन्छ । कुनै पनि ऐन कानुनमा सचिवमाथि मन्त्रीले अनुगमन तथा छड्के जाँच गर्न पाउने प्रावधान छैन । कानुनले सचिवमाथि अनुगमन तथा सुपरभिजन गर्ने जिम्मेवारी मुख्य सचिवलाई मात्रै दिएको छ ।

मन्त्री मोदीले मुख्य सचिवले गर्ने काम गरेको भन्दै मुख्य सचिवको सचिवालयले यसमा आपत्ति जनाएको बताइएको छ । ‘सचिवलाई अनुगमन गर्ने अधिकार मुख्य सचिव र कारबाही तथा सरुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै हुन्छ, मन्त्रीलाई यससम्बन्धी कुनै अधिकार हुँदैन’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘सचिवको मुख्य सुपरभाइजर मुख्य सचिव हुन्, तिनै मुख्य सचिवसँग बैठकमा रहेका सचिवलाई छड्के गरी हाजिरमा रातो चिह्न लगाउनु मन्त्रीको अराजक कदम हो ।’ मन्त्री मोदीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सचिवको छड्के गरेको र मन्त्रीका केही सल्लाहकारले गलत सल्लाह दिएको मन्त्रालयका कर्मचारीको भनाइ छ ।

सामान्य प्रशासन मन्त्री मोदीको सचिवालयका एक कर्मचारीले भने यो विषय समाधान भइसकेकाले चर्काउन नहुने बताए । उनले सचिव पुष्करले पछिल्ला दिनमा मन्त्रीसँग समन्वय गर्न छोडेको र बाहिर जाँदा पनि मन्त्रीलाई बाइपास गर्दै आफूखुसी विभिन्न कार्य गर्न थालेकाले मन्त्रीले सचिवलाई अनुशासनमा ल्याउन छड्के जाँच गरेको दाबी गरे । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);