काठमाडौँ, २७ असार । आज देखि सुरु हुन लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएकोले १ वर्षपछि बस्न लागेको कांग्रेसको बैठक स्थगित गरिएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बोलाइएको थियो ।
केन्द्रीय समिति बैठक एक वर्ष अघि साउनमा बसेयता अहिलेसम्म बस्न सकेको थिएन । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।
गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ । साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।




