काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेललाई गत वैशाख ६ गते श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । उहाँको बैशाख १७ गतेसम्म भारतको नयाँदिल्लीमा उपचार गरिएको थियो ।
अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिएको थियो । सोही सहमति अनुसार परराष्ट्रले राष्ट्रपतिको उपचारका लागि भएको यथार्थ खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानी दिने प्रयोजनका लागि निकासा गरिदिन अर्थलाई नै पत्राचार गरेको हो ।
परराष्ट्रका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भएको कूल खर्चमध्येको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँको विल भरपाई अर्थमा पेस गरिएको थियो । परराष्ट्रका उपसचिव भेष प्रसाद भुर्तेलद्वारा हस्ताक्षरित पत्रमा यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ निकासा गरिदिन भनिएको छ ।
यसअघि राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैंले बेहोर्न चाहेको भन्दै उहाँको स्वकीय सचिवालयले एक विज्ञप्ति नै जारी गरेको थियो । तर‚ राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भने भएको थिएन ।