काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभएको छ ।
मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरुलाई निकालिएको भएपनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताउनु भयो । उहाँले बिस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गर्नुभयो ।
आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनिहरुलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनु भयो । आफ्नो जमिन आरक्षलाई छोडेको भएपनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उहाँको भनाई छ ।
उहाँले बजेटमा भूमिहिनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताउनु भयो । त्यस्तै बजेट संघीयताको पक्षमा नरहेको उल्लेख गर्नुभयो ।