कसरी सुरु भयो गुरुपुर्णिमा मनाउने चलन ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

कसरी सुरु भयो गुरुपुर्णिमा मनाउने चलन ?

काठमाडौं, १८ असार । गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्।

उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। संस्कृत भाषामा ’गु’को अर्थ अन्धकार र ’रू’को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ। पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।

गुरुका व्यक्तिगत गुण राम्रो स्वस्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव– क्रियाशील, विनोदप्रिय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमले स्वीकार गरिसकेका हुन्।

हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ– एउटा देव गुरू बृहष्पति अर्को असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। तसर्थ आज गुरूपूणिमाका दिन हामीले कस्तो गुरूको पूजा गर्नुपर्ने र कस्तो गुरूलाई चोर भनेर तिरस्कार गर्ने हो सोच्नुपर्छ। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो– बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचरताले सुस्वादु परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);