काठमाडौं, १५ असार । एक घण्टा ढिलो गरेर कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने उद्देश्यले आज बैठक बोलाइएको हो । कार्कीले बिहीबार विश्वासको लिने तयारी गरेपनि अन्तिममा बैठक स्थगित गर्नुपरेको थियो ।
आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ र त्यसपछि भने मत विभाजनको कार्यसूची छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने भएपछि ३० मिनेटका लागि भन्दै बिहीबार बाहिरिएका थिए । उनी आधा घण्टामा पनि नफर्किएपछि राती सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराइएको थियो ।
एमाले नेता कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा र माओवादी केन्द्रले फिर्ता लिएपछि अल्पमतमा परेको हो । हाल कोशी प्रदेशमा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।