बटुकराज गिरी
माउण्टेन टेलिभिजन एचडी । नक्कली भुटानी शरणार्थी प्रकरणको ताप सेलाउन नपाउँदै उच्च पदस्थ जोडिएको ललिता निवासको जग्गा हिनामिना प्रकरण फेरी सतहमा आएको छ । पूर्वप्रधानमन्त्रीहरु नै मुछिएको यो काण्डमा ठगी र सरकारी कागज कीर्तेमा फेरि अनुसन्धान अगाडि बढेको छ । शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा यो प्रकरणको मुद्दा चल्न नसक्ने भन्दै ढाकछोप गरिएको थियो । तर अहिले प्रचण्ड नेतृत्वको सरकारले यसलाई अघि बढाएसँगै अनुसन्धानले कुन रुप लेला भन्ने चासोको विषय बनेको छ ।
ललिता निवासको १ सय ३६ रोपनी जग्गा हडप्न सरकारी कागजात किर्ते गर्नेविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेर डेढ वर्षअघि नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । ३ सयभन्दा बढीलाई किर्तेमा मुद्दा चलाउन सिफारिस गरेकामा तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा अनुसन्धान अपूर्ण रहेको भन्दै प्रतिवेदन फिर्ता गरिएको थियो । त्यतिखेर मुद्दा दायर नगर्दा सरकारले आलोचना पनि खेपेको थियो । सरकारी वकिलको कार्यालयले फेरि अनुसन्धान गर्नू भनी पठाएको फाइल सीआईबीमा नयाँ नेतृत्व आएपछि खोलिएको छ । अहिले यस प्रकरणका योजनाकार मानिएका व्यापारी मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार साहसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेका गुरुङले ललिता निवासको जग्गा व्यक्तिको बनाउन मुख्य लगानी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गुरुङले अहिले पनि सोही जग्गामा स्टोर सञ्चालन गरिरहेका छन । अनुसन्धान सुरु हुँदै रोकिदै आएको यो प्रकरणमा यसपटक राजनीतिक हस्तक्षेपविना अनुसनधान हुनुपर्ने पूर्व प्रशासकको भनाइ छ ।
कीर्ते मुद्दामा हदम्याद नलाग्ने भन्ने भएपछि प्रहरीले बन्द गरिएको फाइल खोल्दै ठगी र कीर्तेमा पनि मुद्दा चलाउन गुरुङसहित चार जनालाई अनुसन्धानको दायरामा ल्याएको हो । यो प्रकरणमा सत्तापक्षसहित प्रतिपक्षले निष्पक्ष छानविन हुनुपर्छ त भनेका छन तर पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्म यो प्रकरणमा मुछिएकाले उनीहरु खुलेर बोल्न सक्दैनन ।
नक्कली भुटानी शरणार्थी प्रकरणबाट स्याबासी पाएको प्रचण्ड सरकारले फेरी बहु चर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणलाई अगाडी सारेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, लगाएत सरकारी कर्मचारी समेत मुछिएकाले अनुसन्धान प्रक्रियाप्रति सबैको ध्यान गएको छ ।