ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको हदम्याद सकिएकै हो त ? | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको हदम्याद सकिएकै हो त ?

काठमाडौं, १३ असार । चर्चित ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई आफ्नै निवासबाट पक्राउ गर्यो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । त्यसपछाडि अनुसन्धान रोकिएकोमा अहिले ब्युरोले फाइल खोलेर आरोपितलाई पक्राउ गरेको हो ।

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर सीआईबीले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको हो । राजनीतिक रूपमा पदको दुरुपयोग गर्ने नेता, कर्मचारी र सरकारी जग्गा हडप्नेहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । कागजात किर्ते गर्ने कर्मचारी तथा अन्य व्यक्तिलगायत तीन सय जनाविरुद्ध छुट्टै अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन दिएको थियो ।

जग्गा हडप्न सरकारी कागजात नै लोप पार्ने, कागजातका अंक÷अक्षरमा थपघट गर्ने तथा मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरी त्यसलाई नै आधार मानेर तलबाटै टिप्पणी उठाउने काम भएको सीआईबीको अनुसन्धानबाट पुष्टि भएको छ ।
यसैबीच मंगलबार नै ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ७ आरोपी पक्राउ परेका छन् । मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो । सोही प्रकरणमा मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परे । तर, देउजा,कपाली र केसी बुधबार नै रिहा भएका छन् । सीआईबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाउन खोजे पनि उनीहरु रिहा भइसकेका छन् ।

उनीहरुलाई धरौटीमा छाडिएको छ । अब व्यवसायी गुरुङ,पुर्व आयुक्त शाह, खरिदार कार्की र गौतम सीआईबीको हिरासतमा छन् । सार्वजनिक लिखत किर्तेको अभियोगमा उजुरी परेको २ वर्षभित्र मुुद्दा चलाउनुपर्नेमा सीआईबीले हदम्याद नाघेर आरोपितहरु पक्राउ गरेको हो । नयाँ कानुनअनुसार फागुन २ गते २०७८ भित्र केन्द्रीय अनुसन्धान ब्युरोले किर्तेको अभियोगमा मद्दा दायर गरिसक्नुपर्ने थियो । समरजंग कम्पनीले फागुन २ गते २०७६ मा पठाएको पत्र २०७८ फागुन २ गते किर्तेमा मुद्दा चलाउनुपर्ने हदम्याद सकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);