काठमाडौं, २४ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर मृत्यु भएका मध्ये एकजना तनहुँको भानु नगरपालिका ९ का सीटीईभीटीका कर्मचारी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. भएको खुलासा भएको छ ।
सोही जिपमा सवार सीटीईभीटीका कर्मचारी इलामको सूर्योदय नगरपालिका ५ का ३२ वर्षीय विद्युत प्रशिक्षक भानु पौडेलको पनि मृत्यु भएको हो । पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका ७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै वेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको छ ।
प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँमा सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटना पश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।