काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताउनु भयो ।
उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई अस्पतालमा विपन्नहरुलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरेपनि भेट भइसकेपछि भने चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताउनु भयो । उहाँले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताउनु भयो ।
मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताउनु भयो ।