काठमाडौं, २४ पुष । ग्यास बिक्रेता महासंघले बिक्रेताहरुको कमिसन बढाउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । महासंघले प्रधानमन्त्री देउवालाई भेटेर हाल आफूहरुले पाउँदै आएको कमिसन न्यून भएको र व्यवसाय गर्न नसकिने अवस्था भएको हुँदा कमिसन बढाउन माग गरेका हुन् ।
यसअघि आयल निगम तथा आपूर्ति मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेका हुन् । हाल ग्यास बिक्रेताहरुले एउटा सिलिण्डर बिक्री गरे बापत ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् । यो कमिसनको रकम कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको महासंघका महासचिव चन्द्र थापाले जानकारी दिनुभयो ।
ग्यास विक्रेताहरुले लगानी अर्थात खरिद मूल्यको ५ प्रतिशत कमिसन पाउनुपर्ने माग गरेका छन् । हाल प्रति सिलिण्डर खरिद मूल्य १ हजार ३ सय ४३ रुपैयाँको ५ प्रतिशतका दरले ६७ रुपैयाँ १५ पैसा बनाउनुपर्ने उनीहरुको माग छ । प्रधानमन्त्रीले सो विषयमा सम्बन्धित मन्त्रालयसँग बुझेर समस्याको समाधान गर्ने तथा बिक्रेताहरुको मागप्रति सकारात्मक रहेको महासचिव थापाले बताउनुभयो ।
महासंघले आफ्ना मागहरु पुरा नभए आन्दोलनमा जानुपर्ने बाध्यता समेत रहेको जानकारी गराएको छ । यस क्षेत्रमा देखिएका समस्याका विषयमा यसअघि पुस २१ गते महासंघले नेपाल आयल निगमको ध्यानाकर्षणसमेत गराएको थियो ।