कालीगण्डकी करिडोर कहिले सम्पन्न होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कालीगण्डकी करिडोर कहिले सम्पन्न होला ?

काठमाडौं, १४ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३÷०८४ सम्म सम्पन्न हुने भएको छ । सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो । कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ । आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताउनु भयो । उहाँले देशभरका निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताउनु भयो । उहाँले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्ने बताउनु भयो । उहाँले कालीगण्डकी करिडोरको सम्पूर्ण काम ढिलोमा तीन वर्षसम्म पूरा गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण नदी, यसको उद्गमस्थल दामोदर कुण्डबाट शुरु भएर विभिन्न घाट, धार्मिक स्थलहरु हुँदै त्रिवेणीधामसम्म जाने भएकाले यसलाई त्रिवेणीधाम हुँदै मुस्ताङ दामोदर कुण्डसम्म जानको लागि एउटा कालीगण्डकी धार्मिक पर्यटकीय राजमार्गको रुपमा अघि बढाउँ भनेर प्रश्ताव गरेका थियौँ, यो सर्वसम्मतिले पास भएको थियो, सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएर काम थालेका थियौँ । निर्माणका काम राम्रोसँग पनि भएको छ । देशभरका निर्माणका काममा ढिलासुस्ती भइरहेका बेलामा व्यवहारमा पनि त्यो अपवाद रहेको बेलामा यो काम अलि राम्रोसँग भइरहेको छ । राम्रो प्रगति गरेको छ, केही ठाउँमा अझै अफ्ठ्यारा रहेका छन् । दुई पार्टबाट साइड अफिस राखेर जिम्मेवारी दिइएको छ । राम्दीदेखि रानीमलसम्म अलि काम हुन कमजोर रहेको रहेछ, त्यसलाई प्राथमिकता दिन जरुरी देखियो, केही ठाउँमा ठेकेदारले राम्रो काम नगरेको देखियो । यो धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्ग पनि हुनेभयो । कोरलामा नाका खोल्दा र सुस्तामा नाका खोल्दा त्रिदेशीय मार्ग, धार्मिक, पर्यटकीय र व्यापारिक हिसावले राम्रो छ, यसको लाभ देशले लिनुपर्छ । केही पार्टका कामहरुलाई गति दिन आवश्यक देखियो । अबको ढिलोमा तीन वर्षमा पूरा हुने देखियो ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भएपनि पुल निर्माणमा भने समस्या देखिएको बताउनु भयो । उहाँले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले विकास युवालाई रोजागरी सिर्जना गर्ने र धार्मिक संरचना नमास्ने गरी काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पुलहरुको कुरा अहिलेको समस्याको रुपमा नै देखियो । हामीले यसमा धेरै महत्व दिन जरुरी छ । कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको छ । युवालाई रोजगारी र धार्मिक संरचना नमासिने गरी विकास हुनुपर्छ ।’

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विकाससँगै करिडोर जोडिएका क्षेत्रहरुमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो महत्वपूर्ण गौरवको योजना हो । हाम्रो स्तरोन्नतिका लागि धेरै काम गर्छ । हामीले विकाससँगै्र रोजगारी र उत्पादनका क्षेत्रमा काम गर्नुपर्छ ।’ त्यस्तै गैँडाकोट–राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नै महत्वपूर्ण हुने बताउनु भयो । उहाँले अहिले काम भइरहेको केही ठाउँमा काम ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो । उहाँका अनुसार प्राकृतिक विपद् लगायतका केही कारणले कतिपय ठाउँमा सडक निर्माणको ठेक्का दिइ नसकिएको उल्लेख गर्नुभयो । उहाँले सडकखण्डका केही ठाउँमा पुल बनाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । गैँडाकोट–राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेपनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशतमात्रै काम सम्पन्न भएको र बाँकी समयमा यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने बताउनु भयो । उहाँले ठेक्कापट्टलाई आधार मान्दा गैँडाकोट–राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हाँसिल भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक महत्वपूर्ण छ । गैंडाकोटदेखि जोमसोम कोरलासम्म छ । अहिले निर्माण कार्य भइरहेको छ । राम्दी रानीमलसम्म नयाँ ठेक्काको आवश्यक्ता छ । केही पुलहरु बनाउन आवश्यक रहेको छ । हामीले ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य यस आर्थिक वर्षमा राखेकोमा हालसम्म ५० किलोमिटर कालोपत्रे भएको छ । मौसमले साथ दिए ७० प्रतिशतसम्म कालोपत्रे सक्छौँ । अहिलेसम्म १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन गरिसकेका छौँ । ठेक्कापट्टलाई आधार मान्दा हामीले ६० प्रतिशत भौतिक प्रगति हाँसिल गरेका छौँ ।’

त्यस्तै पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी नदीलाई पथान्तरण गर्नेकुरा गम्भीर विषय भएको बताउनु भयो । उहाँले राम्दीदेखि देवघाटसम्म पैदल मार्ग र साइक्लिङ रुट बनाउनसके यसको महत्व झनै बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदीलाई पथान्तरण गर्ने कुरा उठेको छ, यो गम्भीर विषय छ । राम्दीदेखि देवघाटसम्मको नदी धार्मिक र पर्यटकीय हिसावले महत्व राखेको छ । यसमा सबैलाई गम्भीर तुल्याएको छ । राम्दीदेखि देवघाटसम्म एउटा पैदल मार्ग गराउने र साइक्लिङ रुट बनाउनसके यो महत्वपूर्ण हुने सोचिराखेका छौँ । यसको महत्व बुझाउन सकिन्छ ।’

उहाँले कालीगण्डकी नदीको महत्व र नदीसँग जोडिने धार्मिक स्थलहरुको महत्वलाई जोडेर कालीगण्डकी करिडोर बनेको र यसलाई अझै प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भयो । चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको कुल २५ अर्ब लागत रकम रहेकोमा हालसम्म कुल १२ अर्ब बराबरको ठेक्कापट्टा व्यवस्थापन भइसकेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);