काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ ।
उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उहाँले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताउनु भयो । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन काँग्रेसले । डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले । अहिले बडा चुनौति आएको छ देशमा । राष्ट्रमा लामो लडाईपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा पनि एकथरी लागेका छन । त्यसकारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । त्यसकारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन भने सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हो । अरु कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ भन्न चाहन्छु ।’
त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गर्नुभयो ।