अर्को वर्ष यस्ता बजेटको सिद्धान्तको छलफलमा भाग नलिउँ, सरकारको पनि समय बर्बाद, हाम्रो पनि : महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

अर्को वर्ष यस्ता बजेटको सिद्धान्तको छलफलमा भाग नलिउँ, सरकारको पनि समय बर्बाद, हाम्रो पनि : महामन्त्री थापा

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा राख्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राख्नुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताउनु भयो । उहाँले यसका लागि लोकसेवा आयोगको भुमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानून, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘लोकसेवा आयोगको भुमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थको द्वन्द्वको कानूनदेखि लिएर सम्वैधानिक निकायका नियुक्ति सम्मका विषयहरु एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नितिबाट भ्रष्टाचार न्युन गर्छौं । सुशासन गर्छौं भनेको लक्ष्य प्राप्त हुने रहेछ । न कि हामीले अख्तियार बलियो बनाउछु, दुई, तीनवटा काम गर्छु भनेर मात्र नहुने रहेछ । शिक्षा र स्वास्थ्यमा चाहे राजनीतिकर्मी हुन्, चाहे निजामति सेवा, प्रहरी प्रशासन, अड्डा, अदालत जहाँका हुन् हामीले भन्ने गरेको गुणस्तरीय शिक्षा, हामीले भन्ने गरेको गुणस्तरीय स्वास्थ्य यो दुईवटाको पहुँच सर्वसुलभ, संविधानको वाचा अनुसार निःशुल्क प्राप्त गर्ने हो भने यसले नेपालमा भ्रष्टाचारलाई कम गर्ने कुरामा कति ठूलो अर्थ राख्ला ? म सरकारको ध्यानाकर्षण गराउँछु यो वर्ष यसरी नै आयो, यसरी नै लियौँ । तर अर्को वर्ष पनि निति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी हुने हो भने मैले अन्य माननीयहरुलाई पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिउँ । सरकारको पनि समय बर्बादी हुन्छ । हाम्रो पनि समय बर्बादी हुन्छ । यसलाई बदल्नुपर्छ । बदल्ने तरिका छ । बदल्ने तरिका हामी मिलेर बदल्ने हो ।’

महामन्त्री थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताउनु भयो । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उहाँले न्यायको अनुभुति पनि हुनुपर्ने बताउनु भयो । प्रकरणका दोषि कोही पनि छुट्नु नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले जसरी आउन थालेको छ, एकप्रकारले लाजपनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै, बुझ्दै जाँदाखेरी हाम्रो वरिपरि भएका, हामीले देखिरहेका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने जस्तो लाग्न थालेको छ । तर यसमा सरकारको परीक्षा हेर्नुछ । परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ , सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् । चाहे त्यो सलामी लिने मान्छे होस् । जसलाई छोएको छ, जसको नाम आएको छ । त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन । मैले गरिनँ भनेर भन्ने कुराले कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन । सरकारको परीक्षा पनि छ । सरकारको परिक्षा सकिएपछि अब न्यायालयको परिक्षा शुरु हुन्छ । न्यायालयले पनि यो विषयमा मैले न्याय गरे भनेर मात्र पुग्दैन । न्यायको अनुभुति हुनुपर्छ । यो राज्यबिरुद्धको अपराधमा संलग्न भएको एक एक मान्छे चाहे त्यो घरको मान्छे होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् । चाहे त्यो नाता होस् । सलाम गर्ने होस् । सलामी लिने होस् । एकजना मान्छेपनि छुट्नु हुँदैन । दुधको दुध पानीको पानी हुनुपर्छ । आम नेपाली नागरिकले चाहेको कुरा यही हो ।’

उहाँले अनुसन्धान कसरी भइरहेको छ भन्नेकुरा आम नागरिकले हेरिरहेका उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);