काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा वन बाधक बनेको भन्दै सहज रुपमा सकड निर्माणका लागि कानून परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा स्पिकर फोरम नेपाल र मिडिया एण्ड कन्टेम्पोररी डेभलपमण्ट फाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उहाँले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आइरहेको बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनको धेरै असर पहाडी क्षेत्रमा पर्ने भन्दै स्थानीय तहलाई यसको पूर्ण जिम्मेवारी दिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनमा आउने रकमको सही सदुपयोग भएको छ वा छैन भन्नेबारेमा निरीक्षण हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राज्यमन्त्री चपाईंले हरेक स्थानमा भइरहेको प्रदुषणको समाधान नहुँदा पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुले दुःख पाइरहेको बताउनु भयो ।