काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ ।
सगमाथा आरोहणपछि मंगलवार काठमाडौं आउनुभएका मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गर्नुभएको हो । साथै उहाँलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो ।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । योसँगै उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताउनु भयो । उहाँले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिनुभएको बताउनु भयो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गर्नुभयो ।
आरोही बुढामगरले शारीरिक अशक्त भएकाहरुलाई दया, माया नभइ अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।