काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष ओलीको नामै नलिई उहाँले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताउनु भयो । आईतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राख्नु भएको थियो । सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गर्नु भयो ।
उहाँले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराउनु भयो । अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको आरोप समेत लगाउनु भयो । ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उहाँले दोहो¥याउनु भयो ।
अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोडने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनु भयो । उहाँले भन्नु भयो, ‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समिक्षा गरांै । कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौं । त्यसलाई सुधार गरौं । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो । यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लम्म डुब्ने प्रवृत्तिबाट मुक्त भईएन भने, कुरा एउटा, काम अर्को । हाम्रो के छ भने ठूल्ठूला उपदेशहरु छाँटने प्रवृत्ति ज्याँदा छ । तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ । साँचो अर्थमा हामीमा इमान्दारिता छ भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । म सभामुखजीमार्फत् प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमान्दारिताका साथ अगाडि बढनोस् । लगनशीलताका साथ अगाडि बढनोस् । र, यो भ्रष्टाचारको जालोलाई तोडने काम गर्नु होस । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस । र, काममा इमान्दारसाथ खटनेहरु र काम ठगहरु अनि सत्ताको दूरुपयोग गर्न खोज्नेहरु को–को हुुन, त्यसको पहिचान गरेर खराव तत्वहरुलाई दण्डित गर्नुहोस् । असलहरुलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् । ’
अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताउनु भयो ।