काठमाडौं, २३ पुष । जाडोले कठ्यांग्रिएर तराईका जिल्लामा एक सातायता १६ जनाले ज्यान गुमाइसकेका छन् । साउन अन्तिम साता आएको बाढीले भएका लत्ताकपडा र ओत लाग्ने झुपडी पनि बगाएपछि त्रिपालमुनि बस्दै आएका अधिकांशको बिल्लीबाठ भएको छ ।
अत्यधिक चिसोका कारण सप्तरीमा सात, सिरहामा तीन, रौतहटमा तीन, कपिलवस्तुमा एक, मोरङमा एक र सुनसरीमा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन् । शरीर ढाक्ने कपडा र ओत लाग्ने घर नभएपछि निरन्तरको शीतलहर र बाक्लो हुस्सुका कारण तराई क्षेत्रमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । न्यानो लुगाको अभाव र आगो ताप्न दाउरा नहुँदा विपन्न परिवारलाई शीतलहर थेग्न मुस्किल भएको छ ।
चिसोबाट बच्न कतिपयले चोक तथा आँगनमा मुढा बालेर आगो ताप्ने गरेका छन् । मानिस घरबाहिर कम निस्किएपछि यातायातका साधन पातलिएका छन् भने अस्पतालहरूमा स्वाश्सप्रश्वास, रुघाखोकी र निमोनियाका बिरामीको मात्रा बढेका छन् । चिसो बढेपछि तराई तथा पहाडका अधिकांश विद्यालयमा पठनपाठन बन्द भएको छ । चिसो असाध्यै बढेपछि भूकम्पपीडितको पनि बिचल्ली भएको छ । सिन्धुलीमा चिसोले कठ्यांग्रिएर आज कमलामाई नगरपालिका–१० की ८१ वर्षीया वृद्धा बुधमाया खत्रीको मृत्यु भएको छ ।




