काठमाडौं, ८ जेठ । नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहनेछ। त्यसैगरी,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।




