काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा बु्रक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ती, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउनु आग्रह गर्नु भएको थियो भने उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको आवश्यक सहयोग हुने बताउनु भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताउनु भएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिनु भयो ।
भेटमा उपाध्यक्ष बु्रक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।