काठमाडौं, २ जेठ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताउनुभएको हो । उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताउनु भयो । उहाँले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताउनु भयो । प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाँणको केस फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडी बढोस् । यसमा पार्टीको पुरा सहयोग हुन्छ । निष्पक्ष हुनुप¥यो यो अनुसन्धान । स्वतन्त्र हुनुप¥यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । र दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पुरापुरा सहयोग हामी गर्छौं । र उहाँले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ । त्यसो हुनाले यो विषयमा हामीले निर्णयमा नपुगेको अवस्था हो । र रायमाझीको केस फरक छ । त्यसमा एउटैमा जोड्ने अवस्था पनि म देख्दिनँ । तर अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यो अनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ । हामीले भन्दै आएका छौँ स्वतन्त्र, निष्पक्ष अनुसन्धान होस् ।’
त्यस्तै उहाँले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सामाजिक सञ्जालको ट्रायल भइरहेको छ । डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनुभएको छ । आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो । यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ । भनेपछि पहिला नै न उहाँ आरोपी हो । न त्यसको कुनै प्रमाणिकता छ । यत्तिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषि हो भनेजस्तो गर्नु भएन नि । यसप्रति पनि हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो ।’
उहाँले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताउनु भयो । घटनामा संलग्नहरु दोषि प्रमाणित भएमा कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने उहाँको भनाई छ ।




