खाँणले मलिन अनुहार लगाउँदा किन हँसिलो मुहारमा देखिए रायमाझी ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

खाँणले मलिन अनुहार लगाउँदा किन हँसिलो मुहारमा देखिए रायमाझी !

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता टोपबहादुर रायमाझी सोमबार अदालत पुग्दा हँसिलो मुहारमा अभिवादन गर्दै देखिनुभयो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै मलिन अनुहारमा सार्वजनिक भइरहँदा रायमाझीमा भने त्यसको ठीकविपरीत हँसिलो देखिनुभएको थियो ।

रायमाझी नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर तेस्रो मुलुक अमेरिका पठाउने भन्दै करोडौं रकम असुसी गर्ने गिरोहलाई सहयोग गरेको अभियोगमा आइतबार साँझ पक्राउ पर्नुभएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले ११ औं दिनमा बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ गरी सोमबार म्याद थपका लागि जिल्ला अदालत पु¥याएको थियो । अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिनासाथ टोपबहादुरको मुहारमा मुस्कान देखियो । उहाँको तस्विर लिनका लागि अदालत परिसरमा असिनपसिन गर्दै हतारिएका पत्रकारहरूतर्फ फर्किंदै रायमाझीले निकै उत्साहका साथ हात हल्लाउँदै तस्वीर खिचाएर अदालतभित्र प्रवेश गर्नुभयो । हतकडी नलगाइएका रायमाझीकोे अनुहारमा ग्लानीको भाव कतै थिएन । अदालतले थप अनुसन्धानका लागि उहाँलाई सोमबारदेखि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले सोमबारबाटै उहाँको बयान लिन शुरू गरेको छ ।

अर्घाखाँचीबाट ‘काठमाडौं आउँछु’ भनेर वचन दिएका रायमाझी सोही दिन बुटवलबाट फरार हुनुभएको थियो । वैशाख ३० गते मात्र काठमाडौं आएका उहाँलाई आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा विशेष अनुसन्धान ब्युरोको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँ अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

आफ्नो राजनीतिक जीवनमा एमालेको तुलनामा माओवादीमा धेरै लगानी गरेका रायमाझीलाई शक्ति केन्द्रित राजनीतिकर्ताका रूपमा हेर्ने गरिएको छ । उहाँमाथि सत्ता र शक्तिकै सेरोफेरोमा बस्न रुचाउने स्वभावका कारण तत्कालीन नेकपा खारेज भएपछि एमालेतर्फ लागेको आरोप लाग्ने गरेको छ । नेकपा माओवादी केन्द्रका एक नेताले नेपाल समाचारपत्रसँग भने–‘उहाँ सधैँ शक्तिमै हुन खोज्ने नेता भए पनि जनतासँग राम्रो सम्बन्धसमेत राख्ने गर्नुभएको छ । सत्ता र शक्ति खोज्दै जाँदा अहिले भुटानी शरणार्थी प्रकरणमा हिरासत पुग्नुभयो । माओवादी हुँदा प्रभावशाली भूमिकामा रहेर नै काम गर्नुभएको थियो ।’ नेकपा नेतृत्वको सरकार हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझी सोही ‘मिसन’ लाई सफल बनाउन एमाले रोजेर गए पनि अन्तमा उहाँ प्रहरी हिरासतमा पुगेको ती नेताले बताए ।

सोही प्रकरणमा संलग्न भएको आरोपमा वैशाख २७ मा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने निकै मलिन मुद्रामा देखिनुभएको यियो । उहाँ पहिलो दिन म्याद थप गर्न अदालत पुग्दा निराश अनुहारमा क्याप र मास्कले छोपेर अदालत पुग्नुभएको थियो । खाँणले तस्वीर लिन पुगेका पत्रकाहरूलाई सकभर फोटो नलिइदिए हुन्थ्यो भन्ने भाव प्रकट गर्नुभएको थियो । उहाँलाई पनि प्रहरीले हतकडी लगाएको थिएन ।

आइतबार नै खाँणलाई चार दिनको म्याद थप गरी अनुसन्धान प्रतिवेदन बुझाउन अदालतले आदेश दिइसकेको छ । यसै क्रममा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार बयान लिएर नसकेपछि मंगलबारका लागि बोलाएको छ । सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा मंगलबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्न पनि प्रहरीलाई सुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले आइतबार नै खाँणलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

यो अभियोगमा प्रहरीले नेताहरू रायमाझी र खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राईसहित १३ जनालाई पक्राउ गरिसकेका छन् भने ३ जना अझै फरार छन् । यस प्रकरणमा यी १६ जनाबाहेकका व्यक्तिहरू पनि संलग्न हुनसक्ने आँकलनसहित प्रहरीले निगरानी बढाएको छ । पक्राउ परेकाहरूमाथि ८ सय ७५ जान नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं रुपियाँ असुल गरेको आरोप लागेको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);