काठमाडौं, २२ वैशाख । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताउनु भयो । उहाँले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउनेकुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताउनु भयो । उहाँले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा पनि अहिलेको लोकतन्त्र र गणतन्त्र उपभोग गर्ने सन्दर्भमा संविधान निर्माण गर्नुभन्दा केही अघिदेखि सूचनाको हकलाई स्थापित गरेका छौँ । मौलिक हकको रुपमा राख्याँै, यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय सूचना आयोगको गठन गरेका छौँ, त्यसले निरन्तर काम गरिरहेको छ । यसको महत्वलाई आत्मसाथ गर्नेकुरामा केही अभाव छ । आजको १६ औं स्थापना दिवसले यसको महत्वलाई उजागर गर्ने, यसलाई व्यवहारमा कार्यान्वयन गर्ने र जति प्रभावकारी बनाउने महत्वलाई लिन सकियो उति लोकतन्त्र र प्रजातन्त्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ । त्यस अर्थमा सूचनाको हकलाई बुझ्न सकौँ । जनतामा अहिले पनि सूचनाको महत्व र खासगरी हामी लामो समयसम्म प्रजातान्त्रिक अधिकारबाट वञ्चित भएको परिवेशबाट होला, कुनैपनि कुराको जानकारी राख्ने अधिकार र हक हो, त्यसको सहयोग र बिरोध गर्नेकुरामा चेतनाको अभाव छ । सार्वजनिक गरिएका कुराहरुको आम सरोकारको विषय भएर बुझ्ने त्यसमा हक स्थापित गर्नेकुराको अभाव छ । सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण हो ।’
सभामुख घिमिरेले सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा बिस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने बताउनु भयो ।